September 23, 2026

सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो : प्रधानमन्त्री

सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्कलाई सुशासन, विकास र समृद्धिका लागि ल्याइएको बताएका छन्। डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को कार्यान्वयन अवस्थाबारे आइतबार सिंहदरबारमा आयोजित ब्रिफिङमा बोल्दै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत शासन व्यवस्थामा पारदर्शिता, सेवा प्रवाहमा गति र विकासलाई सहज बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्केसहितका अधिकारीहरूले डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

हालै स्वीकृत राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) नीति, २०८२ को सन्दर्भमा मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई समयसापेक्ष परिमार्जन गरी “डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट)” तयार गरेको छ। यसमा डिजिटल पूर्वाधार, पहुँच, क्षमता विकास र रूपान्तरणलाई प्रमुख आधार बनाइएको छ।

नयाँ ढाँचामा पहिले समावेश कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वित्त र सुशासनका साथै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको छ। कार्यान्वयनका क्रममा प्राथमिकता निर्धारण, अनुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रूपान्तरण परिषद् गठन गर्ने प्रस्ताव गरिएको छ।

नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरिएको थियो।

 

सम्बन्धित खबरहरु

भर्खरै