September 23, 2026

आदर्श सौलःमा ‘विद्यालयमा कुलपति’ कार्यक्रमसँगै अन्तरक्रिया र कविगोष्ठी सम्पन्न

आदर्श सौलःमा ‘विद्यालयमा कुलपति’ कार्यक्रमसँगै अन्तरक्रिया र कविगोष्ठी सम्पन्न

ललितपुर । ललितपुरको बुङ्गमतीस्थित छयासीकोटमा रहेको आदर्श सौलः युवक माविमा “विद्यालयमा कुलपति” कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिक बिन्दु विद्यार्थी नै हुने बताए। उनले कविता, कथा, निबन्ध, गीत, नाटक र उपन्यास जस्ता विधा विद्यार्थीले अहिलेदेखि नै सिर्जना गरेमा भविष्यमा मुलुकको भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उनीहरूले उल्लेखनीय योगदान गर्न सक्ने बताए । देशका विभिन्न विद्यालयका कार्यक्रममा सहभागी अनुभव सुनाउँदै उनले विद्यार्थी, शिक्षक र अभिभावकहरूको ठूलो सहभागिता विरलै देखेको उल्लेख गर्दै विद्यालयको योगदानको प्रशंसा गरे ।

कुलपति राईले साहित्य भनेको ध्यान जस्तै साधना भएको बताए। अहिले कतिपय विरामीलाई पोएट थेरापी र म्युजिक थेरापी दिइने चर्चा गर्दै यस क्षेत्रमा लाग्ने व्यक्तिमा आचरण र नैतिकता उच्च हुने कुरा पनि औँल्याए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले “विद्यालयमा कुलपति” कार्यक्रमले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रज्ञा–प्रतिष्ठानसँग घुलमिल भएर रचनात्मक कार्य गर्न सक्षम बनाउने बताए । साहित्य सिर्जनाका लागि भाषामा दक्ष हुनुपर्ने र प्राज्ञिक योगदानसहित पाठ्यपुस्तक लेखन अनुभवबारे प्रकाश पारे ।

प्राज्ञसभा सदस्य चेतनाथ धमलाले यस कार्यक्रमले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई साहित्य लेखनमा प्रेरित गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने आवश्यकतालाई औँल्याए । उनले आफू यस विद्यालयको पूर्व अभिभावक समेत भएको उल्लेख गर्दै विद्यालयलाई अबल शिक्षण संस्था रूपमा चित्रण गरे ।

विद्यालयका प्रधानअध्यापक ज्ञानभक्त महर्जनले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई स्वागत गर्दै कार्यक्रमले भाषा, साहित्य, संस्कृति र कलाको महत्त्व उजागर गर्न प्रेरणा दिएको बताए । उनले आफ्नो अनुभवलाई “म” शीर्षकको कवितामार्फत प्रस्तुत गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिरा शाहले प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य र समन्वयबारे जिज्ञासा राखेकी थिइन्। सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले प्रज्ञा–प्रतिष्ठानको व्यापकता र स्वरसम्राट नारायण गोपालप्रति श्रद्धाञ्जलीसम्बन्धी भावुक अनुभव राखेका थिए ।

शिक्षक तथा मानविकी विभाग प्रमुख दिनेश खड्गाले धार्मिक विसङ्गतिबारे आफ्नो कवितावाचन गर्दै विद्यार्थीहरूलाई साहित्य, संस्कृति र कला सिर्जनामा लाग्न अभिप्रेरित गर्न कार्यक्रमले मद्दत गरेको बताए।

कार्यक्रमको संयोजन आदर्श सौलःअतिरिक्त विभागका प्रमुख शिक्षक निरोजकुमार श्रेष्ठले थिए । कार्यक्रममा कक्षा ११ र १२ का करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार, आदित्य जैसीवाल, रञ्जना यादव, यशोदा थापा, संजीव स्याङ्तान, आशिका लिम्बू र सीता बस्नेतले कवितावाचन गरेका थिए ।

आदर्श सौलःमा वर्तमानमा दुई हजार बढी विद्यार्थी अध्ययनरत छन्।

सम्बन्धित खबरहरु

भर्खरै