काठमाडौं । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु नभएको पुष्टि गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा दूतावासले बाढीपहिरोमा बेपत्ता रहेका नेपालीको अवस्था, उद्धार, उपचार र आवश्यक सहयोगका लागि निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ।
दूतावासका अनुसार अहिलेसम्म ३७२ जनाको सकुशल उद्धार भइसकेको छ भने घटनास्थलबाट दुई जनाको शव फेला परेको छ। तर, उद्धार र मृत्यु भएका मध्ये कुनै पनि नेपाली नागरिक छैनन्।
पौडी गढवाल जिल्लाको बागोडामा आएको आकस्मिक बाढीमा पाँच जना नेपाली बेपत्ता भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।













