September 23, 2026

बागमती प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा

बागमती प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा

भक्तपुर । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘पूर्ण खोपयुक्त प्रदेश’ घोषित गरिएको छ। प्रदेशका १३ जिल्ला र ११९ पालिकामा खोप पहुँच पु¥याएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स हलमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमतीलाई पूर्ण खोप प्रदेश घोषणा गरे। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिइएको पुष्टि भएपछि यो घोषणा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गरे। साथै, उनले स्वास्थ्य क्षेत्रमा नयाँ ‘डिजिटल हेल्थ कार्यक्रम’को पनि उद्घाटन गरे।

प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप घोषणा भएकोमा बधाई दिँदै “समृद्ध नेपाल, सुखी नेपाली” अभियानसंग सँगै “निरोगी नेपाल” निर्माणका लागि निरन्तर जनचेतना र खोप अभियान आवश्यक रहेको बताए। “रोग लाग्न सक्छ, तर हामीले रोगका कारण र बाटाहरू बन्द गर्नुपर्छ। यसको प्रभावकारी उपाय खोप हो,” उनले भने।

उनले मानिसमात्र नभई पशुपंक्षी र वनस्पति पनि निरोगी हुनुपर्ने र सहर–गाउँ सफा राख्नुपर्नेमा जोड दिए। साथै, संविधानले स्वास्थ्य सेवा मौलिक हकको रूपमा सुनिश्चित गरिएकाले खोप अभियान त्यसको मूर्तरूप भएको बताए।

प्रधानमन्त्री ओलीले खोप अभियान सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानितसमेत गरे। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले बागमतीलाई पूर्ण खोपयुक्त बनाउन सफल भएको जनाए।

 

सम्बन्धित खबरहरु

भर्खरै