September 23, 2026

नेपालको विकासशील राष्ट्रतर्फको यात्रा ऐतिहासिक मोडमा: प्रधानमन्त्री

नेपालको विकासशील राष्ट्रतर्फको यात्रा ऐतिहासिक मोडमा: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुक (LDC) को श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन्।

राष्ट्रिय सभामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ (UN) ले सन् १९७१ नोभेम्बर १८ मा नेपाललाई अति कम विकसित राष्ट्रको सूचीमा राखेको स्मरण गर्दै ५५ वर्षपछि प्राप्त उपलब्धिलाई दीर्घकालीन प्रयासको सफल परिणाम भएको बताए।

प्रधानमन्त्री ओलीका अनुसार, नेपालले सन् २०२६ मा औपचारिक रूपमा विकासशील राष्ट्रको मान्यता प्राप्त गर्नेछ। यसअघि संयुक्त राष्ट्रसंघद्वारा सन् २०१५, २०१८ र २०२१ मा गरिएको मूल्यांकनमा मानव सम्पत्ति सूचकांक र वातावरणीय जोखिम न्यूनीकरणका सूचकहरूमा नेपालले उल्लेखनीय प्रगति गरेको देखिएको थियो। प्रति व्यक्ति आयमा हालै सुधार देखिएपछि स्तरोन्नतिको मार्ग खुलेको हो।

प्रधानमन्त्रीले स्तरोन्नतिपछि नेपालले केही अन्तर्राष्ट्रिय सुविधा गुमाउनुपर्ने भए पनि दीर्घकालीन रूपमा यसलाई अवसरको रूपमा लिनुपर्ने बताए। स्वास्थ्य, शिक्षा, व्यापार, जलवायु सम्बन्धी केही सहुलियतहरू हट्न सक्ने भए पनि सरकारले तयारी अघि बढाइसकेको जानकारी दिए।

सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, योजना आयोग उपाध्यक्षको अध्यक्षतामा कार्यान्वयन समिति, र संघीयदेखि प्रदेशस्तरसम्म संयन्त्र बनाइ प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाएको उनले बताए।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्मेलन, लगानी प्रवर्द्धन कार्यक्रम र आर्थिक कूटनीतिक सक्रियता मार्फत विदेशी लगानी आकर्षित गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

अन्तमा, उनले राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा प्रस्तुत प्रतिवेदन र माननीय सदस्यहरूका सुझावप्रति आभार व्यक्त गर्दै सरकार सबै प्रतिबद्धता कार्यान्वयन गर्न तत्पर रहेको बताए। उनले यो ऐतिहासिक परिवर्तनलाई दिगो र समावेशी बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि प्रष्ट पारे।

सम्बन्धित खबरहरु

भर्खरै