September 23, 2026

सांसद सुरेशकुमार आलेमगरको आरोप : “सांसदबीच पनि छुवाछुत कायम छ”

सांसद सुरेशकुमार आलेमगरको आरोप : “सांसदबीच पनि छुवाछुत कायम छ”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले संघीय संसदभित्रै जातीय छुवाछुतको व्यवहार अझै पनि कायम रहेको गुनासो गरेका छन्।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संसदजस्तो उच्च निकायमा समेत दलित सांसदहरूप्रति भेदभाव हुने गरेको बताएका हुन्।

उनले जातीय छुवाछुत सामाजिक अपराध भए पनि अझै धेरैले यस्तो अपराध गरे पनि कानुनी कारबाहीबाट उन्मुक्ति पाउँदै आएको उल्लेख गरे।
“करोडपति दलित वा सामान्य दलित – दुवैप्रति छुवाछुत कायम छ,” सांसद आलेमगरले भने, “सांसदहरूलाई पनि दलित हो भन्ने थाहा पाएपछि व्यवहार फरक हुने गर्छ।”

उनका अनुसार नेपालको संरचनागत बनावटकै कारण छुवाछुत गर्नेहरू कानुनी दायरामा नआएको हो। उनले छुवाछुतलाई जघन्य सामाजिक अपराधको रूपमा चिनाउँदै कानुन कार्यान्वयनमा कमजोरी औंल्याए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि समाज रूपान्तरणका लागि सबैले आ–आफ्नो तहबाट योगदान दिनुपर्ने बताए।
“अझै पनि समाजमा छुवाछुतको भावना बोकेका मानिस छन्,” मन्त्री पन्तले भने, “तर हामी सबै मिलेर छुवाछुतमुक्त समाज बनाउने अभियानमा लागेका छौं।”

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिएको थियो।

सम्बन्धित खबरहरु

भर्खरै