एजेन्सी । रुसको सुदूरपूर्वी तट क्षेत्रमा केन्द्रविन्दु बनाएर बुधबार गएको ८.७ म्याग्निच्युटको शक्तिशाली भूकम्पपछि जापानका तटवर्ती क्षेत्रमा सुनामीको खतरा सिर्जना भएको छ। जापानी समाचार संस्था एनएचके वर्ल्डका अनुसार देशका सम्पूर्ण तटीय क्षेत्रमा सुनामीका छालहरू देखा पर्न थालेका छन्।
विशेषगरी कुजीपोर्ट, हामानाका शहरलगायतका तटीय भागहरूमा हाल ६० सेन्टिमिटर (१.९ फिट)सम्मका छालहरू मापन गरिएको छ, र तिनीहरूको आकार निरन्तर बढिरहेको जनाइएको छ। विशेषज्ञहरूले सुनामीको लहर तीन मिटर (१० फिट) सम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
उच्च जोखिममा रहेका जापानको पूर्वी तटीय क्षेत्रका झन्डै १९ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। प्रशासन र सुरक्षासम्बन्धी निकायहरू जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षित स्थानमा सार्ने काममा जुटिरहेका छन्।
जापानमा कम्तिमा २४ घण्टासम्म सुनामीको खतरा कायमै रहने विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। समुद्री सतहमा अझै हलचल जारी रहेको हुँदा थप ठूलो छाल आउन सक्ने सम्भावना रहेको विशेषज्ञहरूको भनाइ छ।
यो भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ। हालसम्मको क्षति विवरण भने औपचारिक रूपमा सार्वजनिक भएको छैन। जापान र रुसका सम्बन्धित निकायहरूले सम्भावित असरहरूको मूल्याङ्कन कार्य गरिरहेको जनाइएको छ।
सरकारले नागरिकलाई सतर्क रहन, समुद्र किनारबाट टाढा बस्न र आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।













