काठमाडौं । काठमाडौंको ठमेलस्थित होटलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
उनीहरू ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जना प्रेमी–प्रेमिका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कार्यालयका एसएसपी रमेश बस्नेतले उनीहरूको साथबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगद बरामद गरिएको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार चुनलिन थान डेढ महिनाअघि काठमाडौं आएका थिए र ठमेलको होटलमा बस्दै आएका थिए। सुमेई चोउ भने केही दिनअघि मात्र काठमाडौं आएकी थिइन्। उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिइएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरिरहेको जनाएको छ।







