September 23, 2026

तीन महिनामा २ हजार ६५ विपद् घटना, ९३ जनाको मृत्यु

तीन महिनामा २ हजार ६५ विपद् घटना, ९३ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि असारसम्मको तीन महिनामा देशभर २ हजार ६५ विपद्जन्य घटनाहरू घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार ती घटनामा ९३ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन्।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव सुरेश सुनारका अनुसार, विपद्का घटनामा ४४५ जना घाइते भएका छन्। त्यस्तै, ४ हजार १३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राधिकरणका तथ्यांकअनुसार, बाढीका मात्रै १३७ घटना भएका छन् जसबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। २४ असारमा रसुवाको भोटेकोसीमा आएको बाढी यस अवधिको सबैभन्दा ठूलो मानवीय क्षतिको घटना हो। उक्त बाढी हिमताल विस्फोटका कारण आएको थियो।

त्यस्तै, पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङ लागेर २६ जनाको, आगलागीबाट १४ जनाको, जंगली जनावरको आक्रमणबाट १२ जनाको र लेक लागेर ११ जनाको ज्यान गएको छ। अन्य घटनाहरूमा सर्पदंश, हावाहुरी र भारी वर्षा प्रमुख छन्।

प्रभावित परिवारको संख्यामा हेर्दा बाढीबाट १ हजार २४६ र आगलागीबाट १ हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ, वन डढेलो लगायतका घटनाले सयौं परिवार प्रभावित बनाएका छन्।

प्राधिकरणले आगामी दिनमा विपद् व्यवस्थापनमा स्थानीय, प्रादेशिक र संघीय तहको समन्वयलाई अझ सशक्त बनाउँदै जाने जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै