September 23, 2026

कुलपतिले प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको धारणा राख्दै पन्थी र साहलाई गरे सम्मान

कुलपतिले प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको धारणा राख्दै पन्थी र साहलाई गरे सम्मान

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघ केन्द्रीय समितिले आफ्नो १९औं स्थापना दिवसको अवसरमा आयोजित विशेष सम्मान कार्यक्रममा दुईजना साहित्यिक पत्रकारलाई सम्मान गर्दै ‘साहित्यिक पत्रकारिता दिवस’ मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्दै विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’ भोजपुरिया माटीका सम्पादक रामप्रसाद साहलाई सम्मानित गरे।

कुलपति राईले सम्बोधनका क्रममा साहित्यिक पत्रकारिताले लेखक, सर्जक उत्पादनमा खेलेको भूमिका अतुलनीय रहेको बताए। उनले भने, “साहित्यिक पत्रकारिताले नेपाली भाषा र साहित्यको उन्नयनमा ऐतिहासिक योगदान दिएको छ। अब यो क्षेत्र समावेशी र समानताको आधारमा अघि बढ्नुपर्छ।” उनले एआईको प्रयोगमा सावधानी अपनाउँदै साहित्यिक पत्रकारिता र मानव सिर्जनाको छुट्टै महत्व रहेको स्पष्ट गरे।

सम्मानित व्यक्तित्वहरूलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समालोचक ईश्वरचन्द्र ज्ञवाली, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, भाषा आयोगका सदस्य मातृका पोखरेल लगायत वक्ताहरूले साहित्यिक पत्रकारिताको योगदान र राज्यबाट भइरहेको उपेक्षाका बाबजुद यसको सशक्त उपस्थिति रहेको धारणा राखे।

सम्मानित शशी पन्थी र रामप्रसाद साहले साहित्यिक पत्रकारिताका चुनौती, संघर्ष र उद्देश्यका बारेमा बोले। उनीहरूका बारेमा संघका उपाध्यक्ष रामप्रसाद पन्त र उपमहासचिव नवराज रिजालले विशेष विवरण प्रस्तुत गरे। संघका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारहरूको साझा मञ्चका रूपमा संघको भूमिकाबारे चर्चा गर्दै छापा र विद्युतीय माध्यमसँग सहकार्य गर्दै अघि बढ्ने बताए। कार्यक्रममा महासचिव चेतनाथ धमलाले स्वागत मन्तव्य, सचिवालय सदस्य गणेश राईले धन्यवाद ज्ञापन र कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित खबरहरु

भर्खरै