काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल पुनर्गठन सरकारको नियमित र सामान्य प्रक्रिया भएको स्पष्ट पारेका छन्। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रिपरिषद् पुनर्गठनलाई अस्वाभाविक रूपमा नहेर्न आग्रह गरे।
“मन्त्रिमण्डल गठन वा पुनर्गठन सामान्य प्रक्रिया हो,” मन्त्री गुरुङले भने, “प्रधानमन्त्रीले शपथको बेलामै भनिसक्नुभएको थियो — तपाईंहरूको एक वर्षको कार्यकाल हेरिनेछ, त्यसपछि आवश्यकतानुसार थपघट गरिनेछ।”
मन्त्री गुरुङका अनुसार आफूहरूले एक वर्षको अवधिमा कुनै ठूलो विवाद, उतारचढाव वा अस्थिरता बिना सरकार चलाएको अनुभव सुखद रहेको छ। उनले वर्तमान सरकारको एक वर्षको कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे।
“सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रलाई सही दिशातर्फ ल्याएको छ,” उनले भने, “अब दौडिने परिस्थिति तयार भएको छ।”
हालै प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणपछि मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने चर्चा सञ्चारमाध्यमहरूमा आएको थियो। सो प्रसंगमा सञ्चारकर्मीहरूले राखेको प्रश्नमा मन्त्री गुरुङले कुनै निश्चित समयसीमा या तत्कालीन योजना नखुलाए पनि, पुनर्गठन स्वाभाविक प्रक्रिया भएकाले त्यस्तो सम्भावनालाई अस्वाभाविक रूपमा नहेर्न आग्रह गरेका हुन्।













