काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित दुई होटलबाट अनलाइन सट्टाबाजी (जुवा) सञ्चालन गरिरहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले नगरकोट नाल्डम गाउँस्थित ‘नाल्डम गाउँ रिसोर्ट’ र ‘हरियो शान्ति रेस्टुरेन्ट’ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुर–४ कमलविनायकका २८ वर्षीय संजिव कुशी, २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका–१६ शान्तिनगरका ३१ वर्षीय रोजन महर्जन छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले होटलको कोठा भाडामा लिएर अनलाइन सट्टाबाजी सञ्चालन गरिरहेका थिए। घटनास्थलबाट पाँच थान ल्यापटप, १८ थान मोबाइल फोनसहित अन्य सट्टेबाजीसम्बन्धी सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। सट्टाबाजीमा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।







