काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। ७८ लाख घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका उनले आज राजीनामा दिएका हुन्। ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ मन्त्री गुप्ताले भनेका छन्।
साथै उनले प्रविधिको प्रयोगको शिकार आफू भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्। ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ उनले भनेका छन्।
यसबारे हामीले प्रधानमन्त्रीको सचिवालयमा पनि सोधेका छौं। प्रधानमन्त्रीको सचिवालयले मन्त्री गुप्तालाई प्रधानमन्त्रीले सोमबार बोलाएर २४ घन्टाभित्र राजीनामा दिन भनेको बताएको छ।
‘त्यहीअनुसार मन्त्री गुप्ता आज बालुवाटार आएर राजीनामा पत्र छोडेर जानुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा हुनुहुन्छ, प्रधानमन्त्रीको हातमा राजीनामा भने परिसकेको छैन।’













