काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण वर्षापछि आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ९ जना नेपाली नागरिक, ६ जना चिनियाँ नागरिक र ३ जना प्रहरी छन्। प्रहरीले जानकारी दिएअनुसार बेपत्ता हुने प्रहरीहरूमा असई लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा छन्। ती प्रहरी इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका थिए।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार एक जना प्रहरीले नदीको बीचमा आफू सुरक्षित रहेको जानकारी गराएका छन् भने ९ जनाको उद्धार गरिएको छ। अन्य बेपत्ताहरूको खोजी कार्य जारी रहेको अधिकारीले बताए।
बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र इभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ। सात वटा इभी गाडी र केही मालवाहक कन्टेनर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
आज बिहान ३ बजे चीनतर्फको क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले बिहान ४ बजे नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यसपछि सो क्षेत्र हुँदै सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, बिहान ५:५५ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा भोटेकोसी नदीले सडक कटान गरेको छ। पहिरो झरेर सडक अवरुद्ध भएको छ।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना उद्धार कार्यमा खटिएका छन्। हालसम्म विभिन्न प्रहरी इकाइबाट ९४ जना सुरक्षाकर्मी उद्धार र खोजी कार्यमा परिचालित भएका छन्। प्रशासनले नदी किनार र तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।







