काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन भएको उपकुलपति छनोट सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई सिफारिस गरेको हो।
समितिले १२ जना उम्मेदवारबाट प्रारम्भिक रुपमा पाँच जनालाई छानेर अन्तिम चरणमा तीन जनाको नाम सिफारिस गरेको हो। सिफारिस गरिएका नामहरू सार्वजनिक गरिएको छैन।
तर, त्रिविको उपकुलपति दौडमा प्रा. डा. खड्ग केसी, प्रा. डा. विनिल अर्याल र प्रा. डा. योगेन्द्रबहादुर गुरुङको नाम प्रमुख दाबेदारका रूपमा चर्चामा रहेका छन्।
हाल कार्यवाहक उपकुलपतिको भूमिका निर्वाह गरिरहेका प्रा. डा. खड्ग केसी त्रिविमा लामो समयदेखि प्राज्ञिक प्रशासनिक नेतृत्वमा सक्रिय छन्। पूर्व डिन एवं विज्ञान शिक्षा प्रवर्द्धनमा सक्रिय प्रा. डा. विनिल अर्याल तथा समाजशास्त्र विभागका प्राध्यापक प्रा. डा. गुरुङको पनि अनुभव र योगदानका आधारमा सम्भावना बलियो देखिएको छ।







