December 11, 2024

साहित्यकार सरित्को लघुकथा कृति ‘एक मुठी घाम’ को विमोचन तथा सुभाना आख्यान सम्मान प्रदान

साहित्यकार सरित्को लघुकथा कृति ‘एक मुठी घाम’ को विमोचन तथा सुभाना आख्यान सम्मान प्रदान

काठमाडौं । वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित्को लघुकथासङ्ग्रह ‘एकमुठी घाम’ को प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि माननीय रघुजी पन्तले विमोचन गरेका छन् । सुभाना मिडियाको आयोजनमा मङ्गलबार पुतलीसडकको सहारा क्याफेमा भएको भव्य कार्यक्रममा अख्यानकार सरित्लाई सुभाना आख्यान सम्मान–२०८१ द्वारा सम्मान गरिएको छ ।

विमोचन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरित्को रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको र आज विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवलरूपमा रहेको बताउँदै आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गरेका छन् ।

साहित्यकार दिल पौडेलको अध्यक्षतामा भएको उक्त विमोचन एवम् विमर्श कार्यक्रममा प्राडा गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्टले मन्तव्य व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा प्राडा पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको र उनी विशेषत नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताए । अन्य वक्ताहरूले पनि सरित्को करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पार्दै विमोचित कृतिले वर्तमान भ्रष्ट राजनीतिलाई उधिनेको उल्लेख गरेका छन् ।

विमोचित कृति ‘एक मुठी घाम’ लघुकथाका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम्ले पनि आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाका आफ्ना अनुभवलाई सुनाए ।

कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रबन्ध निर्देशक एवम् पत्रकार शिव विक ‘मिलन’ले स्वागत मन्तव्य राखेका थिए भने साहित्यकार अच्युत घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् बहुआयामिक व्यक्तित्वको बारेमा प्रकाश पार्दै प्राज्ञ चेतनाथ धमलाले अत्यन्त रोचक ढङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पन्तले सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्लाई ‘सुभाना आख्यान सम्मान–२०८१’ बाट सम्मान गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content