काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा ‘रूपान्तरित मनहरू’ संयुक्त कविता सङ्ग्रहको लोकार्पण गरेका छन् । उक्त सङ्ग्रहमा महिलावादी साहित्यिक मञ्चमा सहभागी भएमध्ये १३ जना कविले अभियानस्वरूप आ–आफ्ना कविता सङ्गृहीत गरेका छन् । ती कविहरूमा रोशनीदेवी कार्की, प्रतिमा पन्थी, प्रतिमा शर्मा, धनकुमारी अर्याल, रिङ्कु वाग्ले, दिलकुमारी बुढामगर, शान्तालक्ष्मी श्रेष्ठ, सीता ओझा, पङ्कजा जोशी, पवित्रा पौडेल र भवानी पौडेल रहेका छन् ।
उक्त अवसरमा कुलपति राईले हजारौँ वर्षदेखि पितृसत्ताले महिलामाथि लादेको विभेदको शृङ्खला लामो छ । पूर्वीय सभ्यतामा महिलाको इतिहास लुकाएर अन्याय गरिँदै आएको छ । यसका विरुद्ध १३ जना कविद्वारा प्रतिरोधी धारलाई आत्मसात् गर्दै ‘रूपान्तरित मनहरू’मा अभिव्यक्त हुनु भनेको सुखद कुरा भएको बताए ।
उक्त सङ्ग्रहबारे अतिथि वक्ताहरू प्रा.डा. सुधा त्रिपाठी, प्राज्ञ चेतनाथ धमला, डा.शैलजा पोखरेल, डा.रेणु अधिकारी, डा.रेणु थापा सोलु, विमला तुम्खेवा, प्रणीता कोयू, सरु जोशी श्रेष्ठ, युवराज काफ्ले र रजनी भिलाले आ–आफ्नो धारणा राखेका थिए ।
महिलावादी साहित्यिक मञ्चका तेस्रो संयोजक कवि शान्तालक्ष्मी श्रेष्ठको अध्यक्षता र मञ्चका दोस्रो संयोजक कवि रोशनीदेवी कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मञ्चका प्रथम संयोजक प्रतिमा शर्माले स्वागत मन्तव्य राखिन ।
उक्त सङ्ग्रहमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको शुभकामना, संविधानसभा सदस्य डा.विन्दा पाण्डेको भूमिका र सो मञ्चका चौथो संयोजक प्रतिमा पन्थीको अवधारणा रहेको छ । प्रस्तुत सङ्ग्रहका कविताहरूले प्रायः पितृसत्तात्मक यथास्थितिवादको विरुद्ध प्रतिरोधी चेतनालाई आत्मसात् गरेको पाइन्छ ।