September 7, 2024

उपत्यकामा थप २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाकोे मृत्यु

उपत्यकामा थप २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाकोे मृत्यु

१५ भदौ, काठमाडौं । उपत्यकामा थप २९८ जनासहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

प्रवक्ता गौतमले काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना गरी उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

त्यस्तै नेपालमा कोरोना भाइरसबाट ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीकी ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

यसैगरी, देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । हालसम्म २१ हजार ४१० जना निको भएर घर फर्केका छन् ।

सरकारले कोरोनाको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।

यसअघि ५ हजार ५ सयमा पीसीआर परीक्षण हुँदै आएको थियो । स्वाव संकलन गरी सोही ल्याबमा परीक्षण गर्दा बढीमा ४ हजार रुपैयाँ खर्च लाग्ने छ । तर स्वाव संकलन गरी ल्याबले परीक्षणका लागि अर्काे ठाउँमा पठाउँदा ४ हजार ४ सय रुपैयाँ खर्च लाग्ने छ । जसमध्ये ४ हजार परीक्षण गर्ने ल्याबलाई दिनुपर्ने छ भने, ४ सय स्वाव संलकन गर्ने ल्याबको लाग्ने खर्च हो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content