November 1, 2026

महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिने

महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिने

काठमाडौं । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ बाट सम्मानित हुनुहुने भएको छ ।

टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले यसै साता काठमाडौंमा विशेष समारोह आयोजना गरी उहाँलाई सम्मान गर्ने जनाएको छ ।

नेपाली साहित्य, संस्कृति, दर्शन र गीतसंगीतका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै दाहाललाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । साहित्यिक सिर्जनामार्फत सामाजिक चेतना, मानवीय संवेदना र सांस्कृतिक पक्षलाई उजागर गर्दै आउनुभएका दाहाल नेपाली वाङ्मयका बहुआयामिक स्रष्टाका रूपमा परिचित हुनुहुन्छ ।

दाहालका ‘श्रद्धाञ्जलि’, ‘हावर्डको चौतारीमा’, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘श्वेतपत्र’ महाकाव्य, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिकालेखनसंग्रह प्रकाशित छन् । उहाँका सिर्जनामा जीवनका अनुभूति, सामाजिक परिवर्तन, सांस्कृतिक चेतना र दार्शनिक चिन्तनले विशेष स्थान पाएका छन् ।

दाहालका साहित्यिक कृतिमाथि विभिन्न अध्ययन तथा समालोचनात्मक पुस्तकसमेत प्रकाशित छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ लगायतका कृतिले उहाँको साहित्यिक व्यक्तित्व र सिर्जनात्मक योगदानमाथि विमर्श गरेका छन् ।

साहित्यसँगै गीतसंगीतमा समेत सक्रिय दाहालका काव्यिक सिर्जनालाई समेटेर तयार पारिएको गीति एल्बम ‘जागृति’ सार्वजनिक भइसकेको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका सिर्जना समावेश एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत रहेका छन् ।

एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ । त्यस्तै, ‘बित्छ बिहान आमाको’ गीतमा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’ मा रमेश पाठकले स्वर दिनुभएको छ ।

यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन, स्रष्टाको सिर्जनात्मक योगदानको सम्मान तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिता टीका गोपालको नाममा प्रतिष्ठान स्थापना गरी उक्त पुरस्कार प्रदान गर्दै आउनुभएको हो ।

साहित्य र संगीतलाई सिर्जनात्मक रूपमा जोड्दै नेपाली वाङ्मयको समृद्धिमा योगदान पुर्‍याउँदै आउनुभएका दाहाललाई प्रदान गर्न लागिएको पुरस्कारले साहित्य तथा गीतसंगीत क्षेत्रका स्रष्टाको सम्मान र योगदानको कदर गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै