October 29, 2026

प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका डीआईजीलाई काठमाडौं बोलायो

प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका डीआईजीलाई काठमाडौं बोलायो

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखसहित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई काठमाडौं बोलाएको छ। प्रहरी संगठनका विषयमा विभिन्न चर्चा र सार्वजनिक रूपमा भइरहेका टिप्पणीले संगठनको कामकारबाहीमा पार्न सक्ने प्रभावबारे छलफल गर्न उनीहरूलाई बोलाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेभित्र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।

सरकारले प्रहरी प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्न सक्ने चर्चा भइरहेका बेला प्रहरी प्रधान कार्यालयले उच्च अधिकारीहरूलाई काठमाडौं बोलाएको हो। संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनमा असर पर्ने गरी सार्वजनिक चर्चा हुन थालेपछि त्यसबारे ठोस नीति तय गर्न अधिकारीहरूलाई बोलाइएको स्रोतको भनाइ छ।

प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं पुग्नुअघि नै प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक जारी थियो। प्रहरी महानिरीक्षकको अध्यक्षतामा बस्ने उक्त बैठकमा प्रधान कार्यालय तथा काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकारी सहभागी हुने गर्छन्।

प्रहरीप्रतिको जनविश्वासमा असर पर्ने तथा प्रहरी र नागरिकबीचको सहकार्यमा बाधा पुग्ने खालका हस्तक्षेप वा गतिविधि स्वीकार्य नहुने भन्दै संगठनले आफ्नो सक्रियता बढाएको स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै थिए। मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामका सिलसिलामा केही दिनदेखि काठमाडौंमा छन्।

त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णालीका जयराज सापकोटा र सुदूरपश्चिमका सानुराम भट्टराई हवाई मार्गबाट काठमाडौं आइरहेका छन्।

प्रहरी प्रधान कार्यालयले अधिकारीहरूलाई बोलाउनुको औपचारिक कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन।

सम्बन्धित खबरहरु

भर्खरै