काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीका ८० घर बगाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।
बाढीका कारण थप घरसमेत जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। बाढीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै फोन सम्पर्कमा समेत समस्या देखिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।