काठमाडौं । भारतको उत्तर प्रदेश आसपास सक्रिय न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्ने भएको छ। मौसमविद्का अनुसार आज दिनभर केही स्थानमा वर्षा भए पनि रातिदेखि मौसममा उल्लेख्य सुधार आउने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि यसले नेपालमा पार्ने प्रभाव पनि घट्दै गएको हो। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण भने आज केही भूभागमा वर्षा जारी रहनेछ।
आज दिउँसो सुदूरपश्चिम, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ। तीमध्ये एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
विशेषगरी चितवन आसपास, गण्डकी प्रदेशको तल्लो तथा पहाडी भूभाग, मधेश, लुम्बिनीका दक्षिणी क्षेत्र तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको पूर्वी भूभागमा भने अन्य क्षेत्रको तुलनामा वर्षाको सम्भावना कम रहेको बताइएको छ। पश्चिमी क्षेत्रमा धेरै ठाउँमा बादल लागे पनि तत्काल ठूलो वर्षा हुने अवस्था नरहेको मौसमविद् अधिकारीको भनाइ छ।
यद्यपि, आज राति भारी वर्षाको सम्भावना नरहेको र न्यूनचापीय प्रणाली थप कमजोर हुँदै जाने भएकाले रातिदेखि मौसममा क्रमशः सुधार आउने पूर्वानुमान गरिएको छ।