September 24, 2026

भरत दाहाल थुनामुक्त गर्न सर्वोच्चको आदेश

भरत दाहाल थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चले दाहाललाई हिरासतबाट बाहिर ल्याएर तारेखमा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई आदेश दिएको छ।

दाहाललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी छोरी डेनिका दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दाहाललाई थुनामा नराख्न आदेश दिएको हो।

प्रहरीले दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट नियन्त्रणमा लिएको थियो। बेलबारीमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला उनलाई पक्राउ गरिएको थियो।

पक्राउपछि दाहालको तर्फबाट अदालतमा निवेदन परेपछि सर्वोच्चले यसअघि प्रहरीसँग पक्राउको कारण र आधार मागेको थियो। साथै, अनुसन्धानसँग सम्बन्धित कागजातसहित दाहाललाई अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको थियो।

प्रहरीले दाहालमाथि आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिसँग जोडिएका विषयमा भ्रामक सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान गरिरहेको जनाएको थियो।

सर्वोच्चको पछिल्लो आदेशपछि अब दाहाललाई हिरासतमा नराखी तारेखमा उपस्थित गराउँदै अनुसन्धान अघि बढाइने भएको छ।

सम्बन्धित खबरहरु

भर्खरै