काठमाडौं । नेकपा एमालेले पार्टीको सांगठनिक संरचना विस्तार गर्दै पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित ६ नेतालाई स्थायी कमिटीमा समेटेको छ। बिहीबार बसेको सचिवालय बैठकले उनीहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
स्थायी कमिटीमा पोखरेलसँगै पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई समेटिएको छ। सचिवालयको निर्णयपछि बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूको नाम अनुमोदन गरेको छ। बाँकी सदस्यबारे भने अर्को बैठकबाट टुंगो लगाइने एमालेले जनाएको छ।
यसैबीच एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। पार्टीको वरीयतामा भण्डारी अध्यक्षपछि दोस्रो स्थानमा रहने व्यवस्था गरिएको जनाइएको छ।
एमालेको सांगठनिक पुनर्संरचनाको प्रक्रियाअन्तर्गत स्थायी कमिटीसँगै पोलिटब्युरो गठनलगायत विषयमा पनि छलफल हुँदै आएको थियो। असोज ५ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समेत सदस्यहरूले धारणा राखेका थिए।
स्थायी कमिटी गठनसँगै एमालेले केन्द्रीय कमिटीपछि पार्टीको महत्वपूर्ण सांगठनिक संरचनालाई थप व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएको छ। आगामी बैठकबाट बाँकी पदाधिकारी तथा संरचनासम्बन्धी निर्णय टुंग्याउने तयारी रहेको छ।







