काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोपछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति भएको उल्लेख गरे। उनले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
राष्ट्रपति पौडेलले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई कुनै पनि कठिनाइका कारण रोक्न नहुने बताए। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गर्दै उनले प्रभावित नागरिकलाई खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आवास, उपचार तथा मनोसामाजिक सेवाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
विपद्बाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। मृतकको पहिचानलाई संवेदनशील र विश्वसनीय बनाउन आवश्यक प्रक्रिया अपनाउन तथा पीडित परिवारलाई यथार्थ सूचना उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले नेपालमा कार्यरत तथा भ्रमणमा रहेका विदेशी नागरिकसमेत विपद्बाट प्रभावित भएको उल्लेख गर्दै उनीहरूका परिवार र सम्बन्धित देशप्रति समवेदना व्यक्त गरे। साथै, उद्धार तथा राहतका लागि सहयोग गर्ने छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायप्रति उनले आभार व्यक्त गरे।
बढ्दो विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र थप जोखिममा परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालजस्ता जलवायु प्रभावित मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न आग्रह गरे।
उनले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायतका विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै नेपाली जनताले हरेक संकटमा साहस, धैर्य र दृढताका साथ सामना गरेको बताए।
राष्ट्रपति पौडेलले अहिले एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवादमा अल्झिने समय नभएको स्पष्ट पार्दै राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ उद्धार, राहत, पुनर्निर्माण, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरे। विपद्पछिको पुनर्निर्माणका क्रममा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्दै भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने गरी विकास योजना अघि बढाउनुपर्ने उनको धारणा थियो।



