काठमाडौं । मोटोरोला एज ७० फ्युजन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरस्थित लबिम मलको QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो ।
मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र मास्टर्नीका कलाकार तथा निर्माण टिमसँगै अभिनेत्री प्रियंका कार्कीको समेत उपस्थिति रहेको थियो ।
मोटोरोला र चौधरी ग्रुपले मास्टर्नीसँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता थियो ।
के छन् मोटोरोला एज ७० फ्युजनमा विशेषता?
कम्पनीका अनुसार Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेल Sony-LYT 710 क्यामेरा, Moto AI, ७,००० mAh ब्याट्री तथा ६८W TurboPower™ फास्ट चार्जिङ उपलब्ध छ ।
त्यस्तै, फोनमा १४४Hz रिफ्रेस रेटसहितको १.५K क्वाड-कर्भ्ड डिस्प्ले रहेको छ भने यसको डिस्प्लेले ५,२०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने कम्पनीले जनाएको छ । स्मार्टफोन प्रिमियम फेब्रिक फिनिस तथा PANTONE™ द्वारा छनोट गरिएका आकर्षक रङमा उपलब्ध हुने बताइएको छ ।
नेपालमा २९ अगस्ट २०२६ देखि Motorola Edge 70 Fusion उपलब्ध हुने र यसको सुरुआती मूल्य रु. ६९ हजार ९९९ निर्धारण गरिएको छ ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ । कम्पनीले नयाँ स्मार्टफोनको बिक्रीसँगै देशभर व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउने जनाएको छ ।
७,००० mAh ब्याट्री, उच्च ब्राइटनेससहितको १४४Hz डिस्प्ले, ५० मेगापिक्सेल क्यामेरा र Moto AI जस्ता फिचरका कारण Edge 70 Fusion नेपाली बजारमा प्रिमियम स्मार्टफोन खोज्ने प्रयोगकर्ताका लागि प्रतिस्पर्धात्मक विकल्प बन्ने अपेक्षा गरिएको छ ।





