काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डले पूरक परीक्षामा सहभागी भएका १ लाख २९ हजार ११४ परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएको जनाएको छ । परीक्षामा सहभागी हुन १ लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ देखि ९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी र आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ । साथै, सिम्बोल नम्बर र जन्ममितिको आधारमा ग्रेडसिट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ देखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
यस वर्षको पूरक परीक्षाको नतिजाले उल्लेख्य संख्यामा विद्यार्थीलाई शैक्षिक यात्रालाई निरन्तरता दिने अवसर प्रदान गरेको बोर्डको विश्वास छ ।




