ललितपुर । महालक्ष्मी साहित्य समाज, ललितपुरको आयोजनामा ‘महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान–२०८३’ कार्यक्रम ललितपुरको लामाटारस्थित ट्रिबोन्स रिसोर्टमा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ९ सहआयोजक तथा फोटोज बाइ चेल्सी मिडिया पार्टनरका रूपमा सहभागी रहेका थिए ।
कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले दीप प्रज्वलन गरी गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफ्नो जीवन भोगाइ र सङ्घर्षका अनुभव समेटिएको पुस्तक प्रकाशनको तयारी भइरहेको जानकारी दिँदै समाज परिवर्तन र जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन साहित्यकार तथा कविहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन् । सो अवसरमा उनले महालक्ष्मी साहित्य समाजका संस्थापक अध्यक्ष श्रीराम पौडेललगायतलाई सम्मानसमेत गरेकी थिइन् ।
विशिष्ट अतिथि तथा महालक्ष्मी नगरपालिका वडा नं. ९ का अध्यक्ष जयकृष्ण बोगटीले कवि तथा साहित्यकारहरू समाजका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनीहरूले जीवन र जगतका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्ने क्षमता राख्ने बताए । उनले भौतिक विकाससँगै मानसिक र बौद्धिक विकासलाई पनि समान महत्व दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मन्तव्यसहित गजल वाचन गरेका थिए भने प्राज्ञ अगिब बनेपाली, प्राज्ञ चेतनाथ धमला तथा प्राज्ञ पञ्चकुमारी परियारले मन्तव्यसहित कविता वाचन गरेका थिए । यस्तै चलचित्र लेखक रामशरण पाठक, कवि भक्तबहादुर पण्डित तथा कलाकार नरेन्द्र थापाले साहित्य, कला र समाजको सम्बन्धबारे आफ्नो धारणा राखेका थिए ।
कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीयले कविता वाचन गरेका थिए भने कवि रञ्जु दाहालले मन्तव्यसहित आफ्ना रचना प्रस्तुत गरेकी थिइन् ।
उत्सवमा गोविन्दबहादुर खड्का, राजेशमान केसी, तारा केसी, विभरा किराती, कैलाशकुमार मल्ल, रविन्द्रकुमार थापा, शेखर आचार्य, नारायण सिलवाल, बिर्खे अञ्जान, वसन्त ओली वसन्ती, माधव विडारी चेतनपथ’, सुनिता चौलागाईं, विकास केसी, सञ्जय सोती, लक्ष्मी दास महर्जन, चन्दा सुनार, चन्द्रलाल तामाङ, लीलाराज दाहाल, बसुन्धरा चौहान, नानीराम बस्नेत, रोमा लम्साल, एकता केसी, रमेश बलामी, आवेश मिश्र, भद्रध्वज गौतम र त्रिपुरा पौडेललगायत स्रष्टाहरूले कविता तथा अन्य साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा बाँसुरीवादक मातृकाप्रसाद सङ्गौलाले नाकबाट बाँसुरी बजाएर सांगीतिक प्रस्तुति दिएका थिए । समाजका संस्थापक सदस्य तथा महालक्ष्मी–९ का पूर्वअध्यक्ष बासु गौतमले संस्थाको परिचय प्रस्तुत गर्दै कविता वाचन गरेका थिए भने संस्थाका सदस्य विष्णु थापाले स्वागत मन्तव्य राखेका थिए ।
महालक्ष्मी साहित्य समाजका अध्यक्ष विनोद खत्री ‘आकाश’को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन अध्यक्ष खत्रीले गजल वाचन गर्दै गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष जुमन किरणले गरेका थिए ।
उत्सवमा ललितपुरसहित देशका विभिन्न जिल्लाबाट साहित्यकार, कवि तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।







