September 20, 2026

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए

काठमाडौँ । प्रसिद्ध साहित्यकार सरुभक्तले ‘कविता एन्ड द कप’द्वारा अनामनगरस्थित सिलौटो कटेजमा कवितावाचन गरेका छन् । कविता वाचनसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सरुभक्तले आफू जहाँ पुगे पनि त्यहीँ कविता भेटिने बताउँदै २०५५ सालमा सञ्चालन गरिएको संरक्षण कविता अभियानअन्तर्गत मुक्तिनाथको रानीपौवा गाउँमा स्थानीयवासीलाई भेला पारेर स्थलगत कविता लेख्दाका अनुभव सुनाएका थिए। उनले प्रयोगवादी तथा बौद्धिक कविताभन्दा गाउँघरका सामान्य पाठकले पनि सहजै बुझ्न सक्ने कविता लेखिनुपर्ने धारणा राखेका थिए ।

कवि मोहन कोइरालाका प्रयोगवादी कविताबाट आफू प्रभावित भएको उल्लेख गर्दै सरुभक्तले कविले बौद्धिक र सरल दुवै प्रकारका कविता लेख्न सक्ने बताएका थिए । उनले वैरागी काइँला र इन्द्रबहादुर राईका आयामेली कविताको जटिलताबारे चर्चा गर्दै आफ्ना केही कवितालाई जटिल भनिए पनि आफूले सरल र सहज कविता पनि लेखेको स्पष्ट पारेका थिए ।

समालोचकहरूले राम्रो कवि भन्दै जटिल कविको संज्ञा दिने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै उनले वर्तमान समयमा लेखिएका कतिपय कविता कथाजस्ता भएको टिप्पणी गरेका थिए । कविताका नाममा राजनीति गर्ने र कुण्ठा मात्र चित्रण गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आफ्ना कविता पाठकले बुझ्न सक्ने खालका रहेको बताएका । कार्यक्रममा उनले ‘असलम मियाँको सपना’ सहित केही मुक्तक प्रस्तुत गरेका थिए ।
कवि केशव सिलवालको संयोजन तथा मोक्तान थेबाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सरुभक्तका ‘चट्टान’, ‘पीडादेश’, ‘एक किलो अक्षर’, ‘इतर समय’, ‘प्रयोगशालाभित्र’, ‘कवि/प्रेमी र पागल’, ‘क्यानभास र शब्दबिम्ब’ लगायतका कवितासङ्ग्रहमा समेटिएका रचनाहरूको समग्र सङ्कलन ‘सरुभक्तका कविता’ बाट प्रतिनिधिमूलक कविता वाचन गरिएको थियो ।

उक्त अवसरमा मातृका पोखरेल, रामगोपाल आशुतोष, मिथोच, उमेश अकिञ्चन, रमेश पौडेल, अनुभव, गीता त्रिपाठी, शकुन्तला जोशी र सीता तुम्खेवाले सरुभक्तका कविता वाचन गरेका थिए । त्यसैगरी राजु उबरकोट र सजना गोलेले आफ्ना कविता प्रस्तुत गरेका थिए ।

वाचित कवितामाथि कुमारी लामा, गोविन्द गिरी प्रेरणा र नवीन सिंह ठकुरीले संक्षिप्त धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन कवि मोक्तान थेबाले गरेका थिए ।

सम्बन्धित खबरहरु