September 20, 2026

‘तृषित मन’ हाइकु–सेन्यु सङ्ग्रह लोकार्पण

‘तृषित मन’ हाइकु–सेन्यु सङ्ग्रह लोकार्पण

काठमाडौँ । हाइकु तथा सेन्यु विधामा सक्रिय स्रष्टा प्रदीप केसी (सञ्जेल) को कृति ‘तृषित मन’ हाइकु÷सेन्यु सङ्ग्रह एक समारोहबीच लोकार्पण गरिएको छ। ऐरावती प्रकाशनद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण स्वयम्भूस्थित क्वालिटी दरबार रेस्टुरेन्टमा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा. मधुसूदन गिरीले कृतिको लोकार्पण गर्दै हाइकु र सेन्युलाई बौद्धिक जडताभन्दा सरल र सहज ढङ्गले सिर्जना गर्न आवश्यक रहेको बताए । हाइकु प्रकृतिलाई हेर्ने जीवनदर्शन भएकाले त्यसमा नेपाली मौलिकता, माटो र समाजको सुगन्ध झल्किनुपर्ने उनको भनाइ थियो । साथै, प्रदीप केसीका हाइकु तथा सेन्युमा समाजका विविध आयाम समेटिनु कृतिको महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे ।

विशेष अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य, नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा कृतिका भूमिकाकार चेतनाथ धमलाले हाइकु र सेन्युको संरचना, सिर्जनशीलता तथा साहित्यिक महत्त्वबारे प्रकाश पार्दै कृतिकार प्रदीप केसीको रचनात्मक यात्राबारे चर्चा गरे ।

कार्यक्रममा नेपालभाषाका हाइकुकवि तथा सःदबू साहित्य ललितपुरका संयोजक सुधीर ख्वबी, प्रलेसका केन्द्रीय पार्षद सृजना सरोवर तथा पूर्व ब्रिगेडियर जनरल रामचन्द्र खत्रीले कृतिका विषयमा शुभकामना मन्तव्य व्यक्त गरे ।

कृतिकार प्रदीप केसीले ‘तृषित मन’मा हाइकु र सेन्यु गरी ९५८ वटा रचना समावेश गरिएको जानकारी दिए। प्रकृति, धार्मिक तथा सांस्कृतिक पक्षलाई आत्मसात् गर्दै रचनाहरू सिर्जना गरिएको उनले बताए । सो अवसरमा केसी शुभेच्छुकहरूबाट सम्मानितसमेत भएका थिए ।

मानव अधिकार तथा एकल महिला समूहकी केन्द्रीय सदस्य तथा कृतिकी प्रकाशक प्रतिभा विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऐरावती प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले गरेका थिए । कार्यक्रममा साहित्यकार, कवि तथा हाइकु–सेन्युका पारखीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु