September 20, 2026

पोखरामा ‘दर्शन, साहित्य र भाषा’ विषयक अन्तरक्रिया सम्पन्न

पोखरामा ‘दर्शन, साहित्य र भाषा’ विषयक अन्तरक्रिया सम्पन्न

पोखरा । नेपाल प्रज्ञा–प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम, पोखराको सहकार्यमा ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’, ‘नेपाली प्रगतिशील साहित्य लेखनका प्रवृत्ति’ र ‘गण्डकी प्रदेशको भाषिक अवस्था’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यता रहेको थियो । उनले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल आधार भएको उल्लेख गर्दै नयाँ पुस्ताले सांस्कृतिक रूपान्तरणमा यसको महत्त्व बुझ्न आवश्यक रहेको धारणा व्यक्त गरे । सो अवसरमा उनले कविता वाचनसमेत गरेका थिए ।

विशेष अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले मार्क्सवादी साहित्य र संस्कृतिमार्फत मात्र समुन्नत समाज निर्माण सम्भव हुने बताए । नेपालजस्तो बहुजातीय तथा बहुभाषिक समाजमा ‘सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोष सार्थक रहेको उल्लेख गर्दै उनले प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका छन् ।

त्यसैगरी, प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिब’ले गीत प्रस्तुत गर्दै भाषा, साहित्य र संस्कृतिको उन्नयनको सन्देश दिए ।

गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे, जसमा नेपाल संस्कृत विश्वविद्यालयका अध्यापक, कवि तथा समालोचक तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गरे ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा मगर भाषा–साहित्यका अध्येता लोकबहादुर थापा मगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गरे, जसमा डा. यमनाथ तिमिल्सिनाले टिप्पणी गरे ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका अध्यापक तथा दर्शनशास्त्रका अध्येता समीर सिंहले ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’ विषयक कार्यपत्र प्रस्तुत गरे भने राजनीतिक विश्लेषक सावित्री दुराले सो विषयमा टिप्पणी गरिन् ।

कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला र छवि सुवेदीले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गरे ।

गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखे भने प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनीले कार्यक्रमको उद्घोषण गरेका थिए ।

सम्बन्धित खबरहरु