काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र विधाअन्तर्गत विभिन्न प्रज्ञा पुरस्कार–२०८२ घोषणा गरेको छ। यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरिएको छ।
प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही १ लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार १२ जनालाई प्रदान गरिने भएको छ। समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली–पहाडी)तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कार प्रदान गरिने भएको छ।
यसैगरी जनही ५० हजार रुपैयाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कार पहिलोपटक ७ जनालाई प्रदान गरिने भएको छ। कोसी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल ‘सोडारी’ चयन भएका छन्।
उक्त पुरस्कारहरू २०८३ वैशाख १७ गते बिहीबार कमलादीस्थित सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा प्रदान गरिने जनाइएको छ।







