काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले फर्स्ट एड (प्राथमिक उपचार) तालिमको पहिलो चरणको समीक्षात्मक बैठक सम्पन्न गरेको छ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा महानगरका ६ वटा वडामा उक्त तालिम सञ्चालन गरिएको थियो । तालिममा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको शाखाका सभापति श्यामकाजी डोटेलले जानकारी दिए ।
उनका अनुसार ४ दिने आधारभूत प्राथमिक उपचार तालिम प्रभावकारी रहेको छ । तालिममा सहभागीहरूले सामान्य चोटपटकको घरमै उपचार गर्ने सीप सिकेका छन् भने यसले उनीहरूमा आत्मविश्वास पनि बढाएको छ ।

सभापति डोटेलका अनुसार तालिममा करिब ९० प्रतिशत महिला सहभागी थिए । आगामी दिनमा काठमाडौं महानगरपालिकाका सबै ३२ वडामा यस्तो तालिम सञ्चालन गरिने योजना रहेको छ । अर्को चरणको तालिम वैशाख ६ गतेदेखि सुरु भई जेठ मसान्तसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका स्वास्थ्य प्रमुख ऋषि भुसालले जनस्वास्थ्य प्रवर्द्धनका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले मानिसको जीवन बचाउने सीप सिकाउने कार्यलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गरे ।
बैठकमा तालिम प्रशिक्षकहरूले तालिम सञ्चालनका क्रममा सामना गर्नुपरेका चुनौती, सुधार गर्नुपर्ने पक्षहरू र आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए।







