September 20, 2026

जनमत वाङ्मयद्वारा १० विशिष्ट साधक सम्मानित

जनमत वाङ्मयद्वारा १० विशिष्ट साधक सम्मानित

बनेपा । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ४२ औँ वार्षिकोत्सवको दोस्रो चरणअन्तर्गत स्वदेश तथा विदेशका १० जना विशिष्ट साधकलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्कृति शिरोमणि तथा वरिष्ठ लेखक हरिराम जोशीको उपस्थितिमा सम्मान समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रा‍. डा. चूडामणि बन्धु, मोहन विक्रम सिंह, प्रा.डा. वीणा पौड्याल, प्रा.डा. कविता लामा, नन्दकृष्ण जोशी, प्रा.डा. सविना श्रेष्ठ, डा. बलराम अधिकारी, जगदीश ओझा, राजभाइ प्रधान र डा. गोविन्दप्रसाद आचार्यलाई विभिन्न विधामा जनमत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथि जोशीले नेपाली भाषा र साहित्यको विकासमा जनमतको योगदान उल्लेखनीय रहेको बताउँदै प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ स्रष्टा मोहन दुवालको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रमका सभाध्यक्ष मोहन दुवालले जनमत पत्रिकाले विगतदेखि भाषा, साहित्य र स्रष्टालाई जोड्ने साझा मञ्चका रूपमा काम गर्दै आएको उल्लेख गरे । उनले साहित्यिक कृति प्रकाशन, पुरस्कार तथा सम्मानमार्फत संस्थाले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

प्रा. कपिल अज्ञातद्वारा रचित ‘मनका तराना’ गजलसङ्ग्रह पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा समालोचक डा. कृष्ण सुवेदीले कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए ।

सम्मानित व्यक्तित्वका तर्फबाट प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. कविता लामाले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न साहित्यकारले कविता वाचन गर्नुका साथै स्वदेश तथा भारतका प्राध्यापकहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन राजु सरकारले गरेका थिए भने धन्यवाद ज्ञापन प्रतिष्ठानकी सचिव सिर्जना दुवालले गरेकी थिइन् ।

सम्बन्धित खबरहरु