September 20, 2026

दार्चुलामा पहिलो पटक प्रज्ञा–प्रतिष्ठाको कार्यक्रम

दार्चुलामा पहिलो पटक प्रज्ञा–प्रतिष्ठाको कार्यक्रम

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा पहिलो पटक नेपाल प्रज्ञा–प्रतिष्ठानले कार्यक्रमा आयोजना गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी, गायन, कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या’ विषयक कार्यक्रम दार्चुलाको खलङ्गामा सम्पन्न भएको हो । प्रज्ञा–प्रतिष्ठान (पद्य/काव्य विभाग) को आयोजना र स्थानीय संस्था ‘मानसखण्ड गुरुकुल’को सहआयोजनामा दार्चुलामा पहिलोपटक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महाकाली नगरपालिका दार्चुला, डिलासैनी गाउँपालिका बैतडी, अपि हिमाल गाउँपालिका दार्चुला तथा राष्ट्रिय संरक्षण अभियानले सहयोगमा सम्पन्न भएको थियो । दार्चुला बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमको उद्घाटन कुलपति भूपाल राईले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले ‘सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै दुर्गम क्षेत्रमा कार्यक्रम गर्न पाएकोमा गर्व लागेको बताए । उनले प्रज्ञा–प्रतिष्ठानलाई गाउँ–गाउँसम्म पुर्‍याएर भाषिक, सांस्कृतिक र प्राज्ञिक चेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै विभिन्न मातृभाषा र तिनका साहित्य, संस्कृति तथा इतिहासको संरक्षण प्रज्ञा–प्रतिष्ठानको दायित्व भएको उल्लेख गर्दै ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा–प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले विद्यालयमा ‘कुलपति’ जस्ता कार्यक्रम आयोजना गर्नुपरेको बताए । कुलपति राईले सुदूरपश्चिम प्रदेशमा डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा रहेको र यी सबै भाषा, साहित्य, संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा जोड दिदै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई ‘सबै भाषा : सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान’ भन्ने उद्घोषक सार्थक भएको बताए ।

विशेष अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा–नारी काव्य सङ्‌‌गोष्ठीले यस प्रदेशका सबै जिल्ला, पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रमले सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताएकी छन् । उनले यस क्षेत्रको पहिचान, संस्कृति, भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताएकी हुन । नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत रहेकाले तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पारेकी छन् ।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मनतव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली, डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियो । कविता वाचन गर्न कञ्चनपुर, अछाम, डोटी, बैतडी, डडेलधुरा, दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूकोसमेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु