काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२६ को अवसरमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२’ सम्पन्न भएको छ।
कार्यक्रमको सुरुआत काठमाडौँका कमलादी, घण्टाघर, रत्नपार्क र दरबारमार्गलगायत क्षेत्रमा प्रभातफेरी तथा शोभायात्रासहित गरिएको थियो। विभिन्न जनजाति तथा मातृभाषी समुदायले बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। थारु, नेवास्, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङलगायत समुदायको सहभागिता रहेको थियो।

महोत्सवको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यमा उनले मातृभाषा विभेदमा परेको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धनका लागि औपचारिकता मात्र नभई राज्यको विशेष पहल आवश्यक रहेको बताएका थिए। भाषिक तथा सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिँदै मातृभाषामा सिर्जित कविताले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
प्रतिष्ठानका सदस्य–सचिव डा। धनप्रसाद सुवेदीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार–विमर्श र कविता महोत्सव आयोजना गर्दै आएको जानकारी दिएका थिए। यसले मातृभाषाको उत्थान र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
महोत्सव संयोजक तथा प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिब’ले मातृभाषा संरक्षणका लागि निरन्तर प्रयास र सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेका थिए। २०७२ सालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको तथा काठमाडौँ महानगरपालिकाले नेपालभाषामा पठनपाठन सुरु गरेको सन्दर्भ उल्लेख गर्दै विभिन्न भाषामा विद्यालयस्तरमा पढाइ भइरहेको बताएका थिए।
महोत्सवमा ४२ भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियो । जसमा दिवस राई–लोहोरुङ्ग, प्रकाश याख्खा याक्खा, चम्मर राई –बाहिङ, शान्ता नाछिरिङ–नाछिरिङ, अर्जुन राई–दुङ्माली, जिडी राई–वान्तवा, रविन खालिङ राई–खालिङ, सहस्रा राई–चाम्लिङ, हिरामाया घिसिङ–तामाङ, विद्यानन्द यादव–मैथिली, नेपोलियन चेपाङ–चेपाङ, युवराज गुप्ता बैरागी–अबधी, उपेन्द्रदास उपबिण–मगही, प्रकाश कट्टारी–भोजपुरी, पवित्रा थापा मगर–मगर ढुट, दिलिप बुडा मगर–मगर खाम, सन्तोषी चौधरी–थारु, भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू–लिम्बू, विवेक भट्टराई–संस्कृत, सविना महर्जन–नेपालभाषा, रेनुका कुमाल–कुमाल, देवीराम घोडासैनी देवर्षि–अछामी, सन्जाकुमारी दनुवार–दनुवार ,तारादेवी सुनुवार–सुनुवार, सुरेन्द्र शाही ‘गुलाब कान्छो’–बाजुरेली, डम्बर थामी ‘अनुपम’–थामी, कर्णदयाल सोडारी–बैतडेली, वर्षा धिमाल–धिमाल, बिपीन शेरचन–थकाली, मीना पन्त–डोटेली, सेर्कु शेर्पा–शेर्पा, ममता उराँव–उराँव, जयप्रकाश ताजपुरिया–ताजपुरिया, दीपक घिमिरे–नेपाली, रञ्जितकुमार राजवंशी–राजवंशी, भोगेन्द्र विश्वकर्मा हरविश–अछामी, तेजबहादुर च्हकाली तमु–गुरुङ, शिवचन्द्र प्रसाद साह–बज्जिका, विष्णु पुख्ग्याल भनभनेली–भुजेल, रविन रेग्मी–खस, सुनिलकुमार मुडियारी–मुण्डाले आ–आफ्नो मातृभाषामा कविता प्रस्तुत गरेका थिए। सहभागी कवि तथा झाँकी प्रस्तुतकर्तालाई कुलपति राईले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गरेका थिए।







