September 20, 2026

भाषा मर्दा ज्ञान प्रणाली पनि मर्छ : कुलपति राई

भाषा मर्दा ज्ञान प्रणाली पनि मर्छ : कुलपति राई

तेह्रथुम। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा लोप हुँदा त्यससँग सम्बन्धित ज्ञान प्रणालीसमेत नष्ट हुने भएकाले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण अपरिहार्य रहेको बताएका छन् ।

‘छथर’ साहित्यिक समाज तेह्रथुम र नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागको संयुक्त आयोजनामा छथर सुदापस्थित च्याङलुङ गुफा क्षेत्रमा आयोजित छथर क्षेत्रका जातीय–सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठीको उद्घाटन सत्रमा उनले भाषासँग जोडिएका संस्कृति, मौलिक जीवनपद्धति, लोकज्ञान र सामाजिक मूल्य जोगाउनु समयको आवश्यकता रहेको उल्लेख गरे। प्रतिष्ठानका गतिविधि सम्बन्धित समुदाय र स्थानीय क्षेत्रमा केन्द्रित गर्दै लगिएको पनि उनले बताए।

प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले प्रतिष्ठानका कार्यक्रम गाउँ–गाउँसम्म पुर्‍याउने अभियानअन्तर्गत छथरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। गाउँपालिका प्रमुख सन्तोष तिगेलाले यस्ता कार्यक्रमले क्षेत्रभित्रका साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तहलाई थप प्रेरणा मिलेको धारणा व्यक्त गरे।

कार्यक्रममा डा. कमल तिगेलाद्वारा प्रस्तुत कार्यपत्रमाथि डा. देवी क्षेत्री दुलाल र डा. धर्म ढकालले टिप्पणी गरेका थिए। विभिन्न समुदायले मौलिक भेषभूषा, बाजागाजा र नृत्य प्रस्तुत गरेका थिए भने सहभागीहरूले च्याङलुङ गुफाको अवलोकन गर्दै यसको प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने सुझाव दिएका थिए।

छथर साहित्यिक समाजका अध्यक्ष दिनेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन यात्रीले गरेका थिए।

सम्बन्धित खबरहरु