एजेन्सी । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो । राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताएका छन् ।
सम्झौताअनुसार इजरायलले १ हजार ९ सयभन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ । यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ ।
यसबीच, इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत १३ जना बन्धक प्राप्त गरेको पुष्टि गरेको छ । यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ । त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ । त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ ।













