एजेन्सी । गत जुनमा भएको एयर इन्डियाको बोइङ ७८७ फ्लाइट १७१ दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले अमेरिकी विमान निर्माता बोइङ र पार्टपुर्जा उत्पादक कम्पनी हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।
परिवारहरूले मंगलबार दायर गरेको मुद्दामा दुवै कम्पनीमाथि लापरबाही गरेको आरोप लगाइएको छ। उनीहरूको दाबीअनुसार, विमान दुर्घटनाको कारण इन्धन स्विचमा आएको खराबी हो। मुद्दामा भनिएको छ— बोइङ र हनीवेललाई स्विचसँग सम्बन्धित जोखिमबारे थाहा हुँदाहुँदै पनि आवश्यक कदम नचालेका कारण दुर्घटना भएको हो।
एअर इन्डियाको फ्लाइट १७१ अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडेको केही क्षणमै दुर्घटनाग्रस्त हुँदा २६० जनाको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानले इन्जिनमा जाने इन्धन आपूर्ति रोकिएको देखाएको छ, जसपछि इन्धन स्विच अनुसन्धानको केन्द्रमा रहेको छ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले यसअघि बोइङका विमानमा प्रयोग भएका इन्धन नियन्त्रण स्विचहरू सुरक्षित रहेको दाबी गरेको थियो। तर, एएआईबी (भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो) को प्रारम्भिक प्रतिवेदनअनुसार, एयर इन्डियाको विमानमा स्विच ‘रन’ बाट ‘कट-अफ’ स्थितिमा पुगेको थियो, जसले विमानको थ्रस्ट रोकिदिएको थियो।
मुद्दामा सन् २०१४ मा एफएएले दिएको एउटा सल्लाह उद्धृत गरिएको छ, जसमा इन्धन स्विच लक गर्ने संयन्त्रको निरीक्षण गर्न सुझाइएको थियो, तर अनिवार्य गरिएको थिएन। परिवारहरूले यसलाई डिजाइन त्रुटि भन्दै स्विचले अनजानेमै इन्धन आपूर्ति रोकेर दुर्घटनाको अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।
टेक्सासस्थित लानियर ल फर्मद्वारा प्रतिनिधित्व गरिएका परिवारहरूले बोइङ र हनीवेलले स्विचको समस्या थाहा हुँदाहुँदै पनि एयरलाइन्सलाई सचेत नगरेको र प्रतिस्थापन पार्टपुर्जा उपलब्ध गराउन असफल भएको दाबी गरेका छन्।
बोइङले यसबारे कुनै टिप्पणी गरेको छैन। कम्पनीले भारतको एएआईबीद्वारा जारी प्रारम्भिक प्रतिवेदनलाई मात्र औंल्याएको छ।
दुर्घटनामा २२९ यात्रु, १२ चालक दलका सदस्य र जमिनमा रहेका १९ जनाको ज्यान गएको थियो। विस्तृत अनुसन्धान प्रतिवेदन सन् २०२६ मा आउने अपेक्षा गरिएको छ।













