काठमाडौं । ओखलढुङ्गाकी कवयित्री रेणुका श्रेष्ठद्वारा रचित बालकविता सङ्ग्रह ‘भावनाका लहरहरू’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले ललितपुरको इमाडोलमा आयोजित एक विशेष समारोहकाबीच कृतिको लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि प्राज्ञ धमलाले उक्त कृति समाजको विविधताको सौन्दर्य प्रस्तुत गर्दै बालबालिकाको मनोविज्ञानलाई आत्मसात् गर्ने प्रेरणादायी र सरल कविता संग्रह भएको बताए । उनले ‘भावनाका लहरहरू’ लाई विधागत रूपमा स्तरीय बालसाहित्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै यसले साहित्य, संस्कृति र समाजप्रतिको बालअनुभूति उजागर गरेको उल्लेख गरे ।
कार्यक्रममा अतिथि स्रष्टा गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मन्तव्य राख्दै कवयित्री श्रेष्ठको साहित्यिक यात्रामा सफलताको कामना गरेका थिए ।
कार्यक्रमकी सभाध्यक्ष तथा कृतिकी सर्जक रेणुका श्रेष्ठले बालबालिकाको मनोभावना समेट्ने उद्देश्यले कविता लेखन गरेको बताउँदै आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र बहिनी उपन्यासकार पार्वती श्रेष्ठबाट प्रेरणा प्राप्त भएको बताइन् ।
कृतिको समीक्षात्मक प्रस्तुत कवि पार्थिवराज पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य उपन्यासकार पार्वती श्रेष्ठले दिएकी थिन् । कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य एवं आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गरेका थिए ।
‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह समाजसेवी गोपालकुमार श्रेष्ठको प्रकाशनमा बजारमा आएको हो। यो कृति कवयित्री श्रेष्ठको पहिलो कृतिका रूपमा सार्वजनिक भएको हो।


