September 21, 2026

दलितका मुद्दाहरूलाई गुणात्मक रूपमा उठान गर्न आव्हान

दलितका मुद्दाहरूलाई गुणात्मक रूपमा उठान गर्न आव्हान

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै सञ्चारगृहहरूले दलितका मुद्दाहरूलाई गुणात्मक रूपमा उठाउन गर्न आव्हान गरेका छन् । प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार आयोजित ‘आमसञ्चार माध्यममा दलितका सरोकार’ अन्तरक्रियामा सदियौँदेखि दलित समुदायको मुद्दाहरूलाई यथोचित सम्बोधन गर्न नसक्दा मुद्दाहरू पछि परेका भन्दै दलितका मुद्दाहरूलाई आमसञ्चार माध्यमहरूले प्राथमिकता राख्नुपर्ने धारणा राखेका हुन ।

अन्तरक्रिया कार्यक्रममा दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेघेन्द्र विश्वकर्मा र गोरखापत्र संस्थानका सम्पादक÷मधुपर्कका प्रधानसम्पादक त्रिभुवनचन्द्र वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यपत्र प्रस्तुतिपश्चात् भएको खुलासत्रमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडी, क्रियाशील दलित पत्रकार मञ्चका अध्यक्ष पवित्रा सुनार, राष्ट्रिय दलित कर्मचारी समाजका अध्यक्ष जयबहादुर विश्वकर्मा, पत्रकार धनबहादुर मिजार, पत्रकार महासंघको केन्द्रीय सदस्य सावित्री रसाइली र रीता बुढाथोकी, मिडियाअध्येता टुमराज कोइराला, पत्रकार टिकाराम सुनार, सञ्जीव कार्की, रणबहादुर रम्तेल, दलितअधिकारकर्मी चक्रमान विश्वकर्मा र जितेन्द्र पासवान, सरोजदिलु विश्वकर्मा, केदार गान्धर्व लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पत्रकार धनबहादुर मिजारले सङ्ख्यात्मक रूपमा दलित समुदायका सङ्ख्या न्यून रहेको र सञ्चारगृहहरूमा समेत दर्विलो उपस्थिति नहुँदा दलितका सवालहरूलाई अन्यौलमा परेकोमा दुखेसो पोखे ।

नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेलले सबै मिलेर नविन समुदायको परिकल्पना गर्ने कोणबाट सोच्नुपर्ने धारणा राख्दैै छुवाछुत मुद्धाको सामाजिकीकरण नबनेसम्म राष्ट्रिय योजना बनाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले महासंघले समावेशी प्रतिनिधित्व रहने गरी नीतिगत व्यवस्था सुनिश्चित गरिएको बताए ।

दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले काउन्सिलले पनि दलितको हकहितमा काम गर्न नसकेको गुनासो गरे । उनले भने बालकृष्ण बस्नेत काउन्सिलमा अध्यक्ष भएर आउँदै गर्दा दलितका लागि धेरै काम गर्ने आशा रहेको तर विदाइ हुने बेलामा देखाउनको लागि कार्यक्रम गरिएको बताए । उनले सञ्चारमाध्यमहरुले नै दलितहरुको मुद्दा उठान गरिदिएकाले दलित आन्दोलन अगाडि बढेको बताउँदै दलितहरु नै अग्रसर भएर दलित अधिकारका निम्ति लाग्नु पर्ने बताए ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले उपस्थिति सबैलाई स्वागत गर्दै काउन्सिल उद्देश्यमाथि प्रकाश पारे । उनले दलितहरू भौतिक प्रतिनिधित्व र विषयगत प्रतिनिधित्व गराउनका लागि नीतिगत सुधार गर्नुुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमको सहजिकरण काउन्सिलका शाखा अधिकृत गीता पराजुलीले गरेकी थिइन । उक्त कार्यक्रममा ४५ जना दलित अधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी एवं दलित क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु