September 24, 2026

नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द

नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द

चितवन । लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि रात्रिकालीन सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा वर्षा जारी रहने तथा आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार प्रतिकूल मौसमका कारण सडकमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा नजान आग्रह गरिएको छ।

साथै, सम्बन्धित सुरक्षा निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै