November 3, 2026

बाढीपीडितको पहिचानमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै नेपाल

बाढीपीडितको पहिचानमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै नेपाल

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता व्यक्तिको पहिचानका लागि नेपालले विभिन्न देशसँग प्राविधिक सहयोग मागेको छ। सरकारले विशेषगरी सिंगापुरसँग पहिचानसम्बन्धी प्राविधिक सहयोग, अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनमार्फत बाढीपीडितको पहिचानलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार जापान र दक्षिण कोरियाबाट समेत थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ । यसअघि भारत, चीन, फ्रान्स, अमेरिका, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरियालगायतका देश तथा विभिन्न साझेदारबाट उद्धार र राहत सामग्री प्राप्त भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सहयोग आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । प्राप्त तथा आउने सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायतका सामग्री रहेका छन् ।

बाढीपछिको तत्काल उद्धार र राहतसँगै अब पीडितको पहिचान, पुनःस्थापना र पुनर्निर्माण पनि चुनौतीपूर्ण बनेको छ । मन्त्रालयले क्षतिको विस्तृत विवरणका आधारमा घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत निर्धारण गरिने जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै