ललितपुर । ललितपुर महानगरपालिका–१८, सैबुस्थित आदिनाथ टोल सुधार समितिले आफ्नो भवन परिसर तथा महादुर्गा मन्दिरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
समितिले करिब एक रोपनी ११ आना क्षेत्रफलमा नेपाल सरकारको आधुनिक अनुसन्धानमूलक नर्सरी, कागेश्वरी मनोहरा नगरपालिका–६, चखणडोलबाट विभिन्न प्रजातिका बिरुवाहरू ल्याई वृक्षारोपण गरेको हो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त क्षेत्रलाई हराभरा बनाउँदै वातावरणीय संरक्षण तथा सौन्दर्यीकरण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको समितिले जनाएको छ।
आदिनाथ पार्कका रूपमा विकास भइरहेको उक्त स्थान बागमती नदीको दोभानमा आदिनाथ भगवान् उत्पन्न भएको ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा परिचित छ। धार्मिक महत्वसँगै पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको यस क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा वृक्षारोपण कार्यक्रमले थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
आदिनाथ टोल सुधार समितिका अध्यक्ष हरिबहादुर बिसीले मन्दिर परिसरलाई व्यवस्थित, हराभरा र आकर्षक बनाउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
अध्यक्ष बिसीका अनुसार कृष्ण जन्माष्टमीका दिन चोभारमा स्थापना भएको आदिनाथ मन्दिरबाट मूर्ति बागमती नदीमा ल्याई धार्मिक विधिअनुसार पूजापाठ गर्ने परम्परा रहँदै आएको छ। दियो, कलश लगायतका धार्मिक सामग्रीसहित विशेष पूजाआजा गरी परम्परागत रूपमा पर्व मनाउने गरिएको उनले जानकारी दिए।
वृक्षारोपणसँगै आदिनाथ पार्क तथा महादुर्गा मन्दिर परिसरको प्राकृतिक सौन्दर्यमा वृद्धि हुनुका साथै यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उजागर हुने विश्वास गरिएको छ। साथै, हरियाली प्रवर्द्धनसँगै वातावरण संरक्षणमा समेत कार्यक्रमले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



