November 3, 2026

देउवा समूहद्वारा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित

देउवा समूहद्वारा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको तीनदिने सम्मेलनले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।

धर्म तथा संस्कृतिसम्बन्धी धारणा सार्वजनिक गर्दै सम्मेलनले नेपालमा परम्परादेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

सम्मेलनबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृति राष्ट्रिय पहिचानसँग जोडिएको उल्लेख गर्दै हिन्दू, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रस्तावमा धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै सबै धार्मिक समुदायबीचको सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको उल्लेख गर्दै सबै नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राखेका थिए।

यसअघि कांग्रेसले धर्मका विषयमा मुख्यतः धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई जोड दिँदै आएको भए पनि देउवा समूहको सम्मेलनबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर औपचारिक रूपमा प्रस्ताव अघि सारिएको हो।

सम्बन्धित खबरहरु

भर्खरै