भक्तपुर। भक्तपुर बुढ्यौली साहित्य समाजले वरिष्ठ साहित्यकार चट्याङ मास्टरद्वारा आफ्नी आमाको स्मृतिमा स्थापित ‘भीमकुमारी स्मृति बुढ्यौली साहित्य सम्मान–२०८२’ वरिष्ठ साहित्यकार, हास्यव्यङ्ग्यकार तथा सञ्चारकर्मी नरनाथ लुइँटेललाई प्रदान गरेको छ।
बुढ्यौली साहित्यको विकास, ज्येष्ठ नागरिक केन्द्रित सिर्जनाको निरन्तर प्रकाशन तथा फित्कौली डटकममार्फत सचेतनामूलक साहित्यिक सामग्री प्रकाशन गरी उल्लेखनीय योगदान पुर्याएको मूल्यांकनका आधारमा लुइँटेललाई नगद रु. २५ हजार सहित उक्त सम्मान प्रदान गरिएको हो।
समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. मुकेशकुमार चालिसे प्रमुख अतिथि तथा चट्याङ मास्टर र आर.सी. रिजाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष वसन्ती भुजेलले गरेकी थिइन्।
कार्यक्रमको प्रारम्भमा समाजका सदस्य रामशरण न्यौपानेले कवितामार्फत स्वागत गरेका थिए भने सदस्य जुनू घिमिरेले अतिथिहरूलाई खादा ओढाएर स्वागत गरेकी थिइन्। समाजका अध्यक्ष कविराज घिमिरेले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गर्दै सम्मानपत्र वाचन गरेका थिए। त्यसपछि प्रमुख अतिथि चालिसेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए भने चट्याङ मास्टरले नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
सम्मान ग्रहणपछि लुइँटेलले अप्रत्याशित रूपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै समाज तथा सम्मानदाताप्रति आभार प्रकट गरेका थिए।
चट्याङ मास्टरले संस्थाले योग्य व्यक्तित्वको छनोट गरी सम्मान अर्पण गरेकोमा सन्तोष व्यक्त गरेका थिए भने विशिष्ट अतिथि आर.सी. रिजालले लुइँटेलको साहित्यिक तथा सञ्चार क्षेत्रमा रहेको योगदानमाथि प्रकाश पारेका थिए।
यसै अवसरमा भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त आयोजनामा ३१औँ संयुक्त रचनावाचन कार्यक्रम पनि सम्पन्न भएको थियो।
कार्यक्रममा केशवराज खनाल, राजेन्द्रकुमार बज्राचार्य, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, शिखनाथ ढकाल, शिखरनाथ बेलकोटे, श्याम माकजू, पदम दाहाल, विद्या अनामिका तिवारी, मुकुन्दप्रसाद ढकाल, जुनू घिमिरे, धरणी धनञ्जय, उमा दाहाल, श्रीबहादुर के.सी., प्रमुना पौडेल, दुर्गा घिमिरे, एम.पी. पाण्डे तथा कविराज घिमिरे लगायतका स्रष्टाहरूले कविता, गजल, मुक्तक र देउडा वाचन गरेका थिए।
अक्सफोर्ड प्राक्टिकल स्कुल, सल्लाघारी, भक्तपुरमा आयोजित कार्यक्रममा प्रस्तुत साहित्यिक सिर्जनाले सभाहललाई साहित्यिक माहोलले गुन्जायमान बनाएको थियो। कार्यक्रममा सहभागीहरूले सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। अन्त्यमा सभाध्यक्ष कविराज घिमिरेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।







