इटहरी । जनसांस्कृतिक महासङ्घ नेपाल १ नम्बर (कोसी) प्रदेशको एकता बैठक सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। बैठकले प्रगतिवादी साहित्यकार प्राडा खेमराज खनाललाई प्रदेश संयोजक र जनवादी कलाकार खुश्बु राईलाई सहसंयोजक चयन गर्दै ७५ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
नवगठित समितिमा कोसी प्रदेशका १४ जिल्लाका प्रतिनिधिसँगै महासङ्घका सातवटा आङ्गिक सङ्गठनलाई समेटिएको जनाइएको छ। महासङ्घअन्तर्गत जनसाहित्य सङ्घ नेपाल, जनपक्षीय चलचित्रकर्मी सङ्घ, जननाट्यकर्मी सङ्घ नेपाल, इतिहास तथा समाजशास्त्र सङ्घ नेपाल, जनकलाकार सङ्घ नेपाल, भाषा तथा लोकवार्ता सङ्घ नेपाल र ललितकला सङ्घ नेपाल आबद्ध छन्।
कार्यक्रममा प्रमुख अतिथि तथा महासङ्घका केन्द्रीय इन्चार्ज चिरन पुनले लेखक, कलाकार र सांस्कृतिककर्मीहरूले आफ्ना सिर्जनामार्फत समाज रूपान्तरण र प्रगतिशील विचार प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले आधुनिक प्रविधिसँग जोडिएर कला, साहित्य र संस्कृतिलाई समयअनुकूल विकास गर्नुपर्नेमा जोड दिए।
महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले संगठनात्मक एकता, वैचारिक स्पष्टता र सामूहिक नेतृत्वलाई सुदृढ बनाउँदै महासङ्घलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
बैठकमा प्रदेश इन्चार्ज घनराज सुब्बाले जनपक्षीय स्रष्टाहरूको प्रतिभा प्रस्फुटन र संगठनको एकतामार्फत सांस्कृतिक आन्दोलनलाई सशक्त बनाउने आवश्यकता औँल्याए।
महासङ्घका केन्द्रीय कार्यालय सदस्य तथा प्रकाशन विभाग प्रमुख चेतनाथ धमलाले संगठन निर्माण र विस्तारका अनुभव साझा गर्दै नेतृत्व हस्तान्तरणलाई महासङ्घको निरन्तरताका रूपमा व्याख्या गरे। उनले अभिलेखीकरणका कार्यलाई पूर्णता दिनुका साथै अवसरवादविरुद्ध सांस्कृतिक आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताए। उनले विगतका जनआन्दोलन, जनयुद्ध र विभिन्न राजनीतिक आन्दोलनमा सांस्कृतिककर्मीले खेलेको भूमिकाको स्मरण गर्दै आवश्यक परे कला, साहित्य र गीत–सङ्गीतमार्फत प्रतिरोधको अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।
नवनिर्वाचित प्रदेश संयोजक प्राडा खेमराज खनालले महासङ्घलाई वैचारिक र संगठनात्मक रूपमा अझ गतिशील बनाउँदै जस्तोसुकै चुनौतीसँग सामना गर्न आफू प्रतिबद्ध रहने बताए।
बैठकले जनसांस्कृतिक आन्दोलनलाई विभाजनभन्दा एकतामार्फत अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै सम्पूर्ण जनसांस्कृतिककर्मीलाई साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।



