काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञतासँग जोड्ने उद्देश्यले तीन प्रतिष्ठित विदेशी विज्ञलाई कोषको सदस्यमा मनोनयन गरेको छ । सरकारको उक्त कदमलाई नेपालको जैविक विविधता संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा जलवायु परिवर्तनसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीले ऐनमा भएको व्यवस्था अनुसार बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन तथा अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइटलाई कोषको सदस्यमा मनोनयन गरेकी हुन् ।
मनोनित सदस्यमध्ये लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’का अध्यक्ष हुन् । उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षण र वातावरणीय क्षेत्रमा योगदान दिँदै आएका छन्। त्यस्तै, डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघ संरक्षणसम्बन्धी अनुसन्धान गरेका थिए भने ‘तराई आर्क ल्यान्डस्केप’ अवधारणाको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राध्यापक विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणसम्बन्धी अनुसन्धानमा सक्रिय रहँदै आएकी छन् ।
सरकारले यी अन्तर्राष्ट्रिय विज्ञहरूको अनुभव र ज्ञानबाट संरक्षण क्षेत्रमा आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा प्रभावकारी नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
सरकारको अपेक्षा अनुसार नयाँ मनोनयनले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै वन्यजन्तु संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक नीतिगत सुधार र दीर्घकालीन योजना निर्माणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।







