November 3, 2026

संस्थापक अध्यक्ष सिलवाल, राई र सुमीलाई सम्मान गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घले २०ओैँ वार्षिकोत्सव मनायो

संस्थापक अध्यक्ष सिलवाल, राई र सुमीलाई सम्मान गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घले २०ओैँ वार्षिकोत्सव मनायो

काठमाडौं । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०औँ वार्षिकोत्सव, पाँचौँ साधारणसभा, राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस, राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष स्वर्गीय नकुल सिलवाललाई मरणोपरान्त ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको थियो । सम्मान उनकी धर्मपत्नी सुनिता सिलवालले ग्रहण गरेकी थिइन् । कार्यक्रममा स्वर्गीय सिलवालप्रति समर्पित कविता वाचनसमेत गरिएको थियो ।

वि.सं. २०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवालको २०७३ सालमा निधन भएको थियो । उनले सम्पादन गरेका बगर र नुन्दी नेपाली साहित्यिक पत्रकारिताका उत्कृष्ट पत्रिकाका रूपमा परिचित छन् । उनी नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष, साहित्य गुठीका संयोजक तथा बगर फाउन्डेसनका अध्यक्षसमेत रहेका थिए । उनले दर्जनौँ साहित्यिक कृति प्रकाशन गर्नुका साथै विभिन्न पुरस्कार तथा सम्मानसमेत स्थापना गरेका थिए ।

यसैगरी, नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखाकी संस्थापक अध्यक्ष तथा सङ्गम साहित्यिक पत्रिकाकी सम्पादक सुमित्रा सुमीलाई ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३’ तथा बान्तावा राई भाषाको साहित्यिक पत्रिका बुङ्वाखाका सम्पादक पदमकुमार राईलाई ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको थियो । प्रमुख अतिथि डा. भट्टराईले सम्मानपत्र प्रदान गरेका थिए भने सङ्घका अध्यक्ष मोहन दुवालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले साहित्यिक पत्रकारिताको इतिहासलाई जीवन्त राख्दै प्रविधिमैत्री ई–साहित्यिक पत्रकारितासँग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

विशिष्ट अतिथि समालोचक तथा अनुसन्धाता कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास, महत्त्व र विकासक्रमबारे धारणा राखेका थिए । साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले ई–साहित्यिक पत्रकारिताको इतिहास, वर्तमान आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

सम्मानित व्यक्तित्वहरूको योगदानबारे सङ्घका उपमहासचिव नवराज रिजालले स्वर्गीय नकुल सिलवाल, कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले सुमित्रा सुमी तथा सचिवालय सदस्य गणेश राईले पदमकुमार राईको साहित्यिक पत्रकारितामा रहेको योगदान प्रस्तुत गरेका थिए ।

सङ्घका अध्यक्ष मोहन दुवालले छापा र ई–साहित्यिक पत्रकारितालाई समान रूपमा समेट्दै आगामी दिनमा अझ प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य यादव भट्टराई, पूर्व उपसचिव केदारकुमार सिलवाल तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय सदस्य डा. शैलेन्दुप्रकाश नेपालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चेतनाथ धमलाले गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै