September 20, 2026

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन काठमाडौँको तीनकुनेस्थित मन्डला ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सम्मेलनले सांस्कृतिककर्मी तथा कवि भीम कुमाखीलाई संयोजक र अष्ट लामालाई सहसंयोजक चयन गर्दै ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति गठन गरेको छ ।

सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन हाल रक्षात्मक अवस्थामा देखिए पनि नयाँ ऊर्जा र उत्साहका साथ देश तथा जनताको पक्षमा अघि बढ्ने बताए । उनले कम्युनिस्ट आन्दोलन आमूल परिवर्तनको संवाहक भएको उल्लेख गर्दै आन्दोलनभित्र देखिएका कमजोरी र अराजकताप्रति सचेत रहनुपर्ने धारणा राखे । साथै, नयाँ पुस्तालाई विचार र आन्दोलनसँग जोड्दै जिम्मेवार बनाउनु आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्य संयोजन समितिका सदस्य गङ्गानारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति, नेपाली समाजवादी संस्कृति तथा कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी र सशक्त बनाउँदै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले कला, साहित्य र संस्कृति सामाजिक परिवर्तनका महत्वपूर्ण माध्यम भएको बताए ।

सम्मेलनमा महासङ्घका इन्चार्ज चिरन पुनले विधान तथा प्रतिबद्धतापत्र प्रस्तुत गर्दै अबको प्रगतिशील सांस्कृतिक आन्दोलनलाई चारैतिर धारिलो र प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । महासङ्घका सहइन्चार्ज उदय श्रेष्ठले स्वागत मन्तव्यका क्रममा प्रगतिशील सांस्कृतिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै विभाजनभन्दा एकताले आन्दोलनलाई थप उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका पूर्व इन्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा तथा महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित संयोजक भीम कुमाखीले लेखक, कलाकार तथा सांस्कृतिककर्मीहरूको एकता प्रक्रियालाई थप मजबुत बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप प्रभावकारी बनाउने कार्यदिशासमेत तय गरेको जनाएको छ ।

सम्मेलनमा कलाकार उदय श्रेष्ठ, झङ्कार बुढा, कर्ण विद्रोही, धनु ज्ञवाली, दीपक राई, एलिना, डम्बर रोकाया र पूजा श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने राजाराम राउतले कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन महासङ्घकी कार्यालय सदस्य **कुस्मा महरा ‘प्रगति’**ले गरेकी थिइन् । सांस्कृतिक अभियानसँग सम्बन्धित गीत, कविता तथा सिर्जनात्मक प्रस्तुतिले सम्मेलनलाई थप उत्साहपूर्ण बनाएको थियो ।

सम्बन्धित खबरहरु